इरानसंग सम्झौता गर्ने नगर्ने ट्रम्पमा निर्भर
काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता हुने अथवा नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा निर्भर रहने बताएका छन् । सीएनएनका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बेसेन्टले भने, “सबै कुरा राष्ट्रपति के गर्न चाहनुहुन्छ भन्नेमा निर्भर गर्छ । राष्ट्रपति ट्रम्प अमेरिकी जनताका लागि कुनै पनि खराब सम्झौता गर्ने पक्षमा हुनुहुन्न ।”
बेसेन्टले इरानसँग सम्झौता गर्ने प्रयासका क्रममा आफूलाई मध्यावधि निर्वाचनको कुनै पर्वाह नरहेको भन्दै यसै हप्ताको सुरुमा ट्रम्पले गरेको टिप्पणीले उनलाई एक राजनेताका रूपमा प्रमाणित गरेको बताए । उनले ओमानबाट होर्मुज जलमार्गमा टोल लगाउने कुनै योजना नरहेको आश्वासन प्राप्त भएको बताए ।
यसअघि, बिहीबार नै बेसेन्टले यदि ओमानले जलमार्गमा महसुल लगाउने कार्यमा इरानलाई समर्थन गरेमा ओमानविरुद्ध ट्रेजरी विभागमार्फत कडा कदम चाल्ने चेतावनी दिएका थिए । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँगको प्रारम्भिक समझदारी पत्र (एमओयू)मा ट्रम्पले हस्ताक्षर गर्ने वा नगर्ने भन्ने अझै निश्चित हुन बाँकी रहेको बताएका छन् । उनका अनुसार दुई देशबीच अझै पनि केही भाषागत बुँदाहरूमा वार्ता जारी छ ।
भान्सले बिहीबार अमेरिकाको मेल्यिान्डस्थित एयरवेसको रनवेमा पत्रकारहरूसँग भने, “राष्ट्रपतिले उक्त एमओयूमा कहिले हस्ताक्षर गर्नुहुन्छ वा हस्ताक्षर गर्नुहुन्छ कि हुँदैन भन्ने कुरा ठ्याक्कै भन्न गाह्रो छ । हामी केही भाषागत बुँदाहरूमा छलफल गरिरहेका छौँ ।”
प्रगति भइरहेको कुरामा जोड दिँदै भान्सले इरानको आणविक कार्यक्रम र संवर्धित युरेनियमसम्बन्धी केही मुख्य बुँदाहरू अझै पनि अनिश्चित अवस्थामै रहेको बताए । उनले आणविक विषय, उच्च संवर्धित मौज्दात र संवद्र्धनको सवालमा केही मुद्दाहरू बाँकी रहेको बताए ।
“हामी यस्तो बिन्दुमा पुग्नेछौँ, जहाँ सम्भावित रूपमा सँगै बसेर यी मुद्दाहरू समाधान गर्न सक्नेछौँ । तर, त्यसका लागि हामीले अझ केही प्रगति गर्न आवश्यक छ,” उनले भने, “म हामी त्यहाँ पुग्छौँ नै भनेर ग्यारेन्टी त दिन सक्दिनँ । तर, अहिलेका लागि म यसबारे निकै सकारात्मक महसुस गरिरहेको छु ।”
हालै भएका आपसी आक्रमणका बाबजुद युद्धविराम कायम रहेको, तर अमेरिकाले रक्षात्मक आक्रमण गर्ने अधिकार सुरक्षित राखेको भान्सले बताए । युद्ध लम्बिँदै जाँदा अमेरिकामा कच्चा तेल, पेट्रोल र डिजेलको मौज्दात तीव्र रूपमा घटिरहेको छ । महिनौँदेखि जलमार्ग बन्द रहेकाले ऊर्जा उद्योगले भण्डारणमा राखिएको तेलमा अत्यधिक निर्भर हुनुपरेको छ ।
