सुशीला कार्कीसहित ४३ जनामाथि अनुसन्धान गर्न सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित ४३ जनामाथि जेनजी आन्दोलनमा संलग्नता बारे अनुसन्धान गर्न सिफारिस गरेको छ। आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीकै नेतृत्वमा सरकार बनेर निर्वाचन सम्पन्न भएको थियो। उनकै मन्त्रिमण्डलका गृहमन्त्री ओमप्रकाश अर्याल र उनी नेतृत्वको सरकारले बनाएको जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।
उनीहरूले प्रदर्शन पहिले, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा दिएको अभिव्यक्ति, निजहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरूको प्रदर्शनमा सहभागिता हुनसक्ने भनि संकलन गरेको प्रतिवेदन समेतलाई आयोगले आधार मानेको छ।
भदौ २३ र २४ गते भएका घटनामा मानवीय क्षति र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए वा नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस
पूर्वन्यायाधीश एवम् जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ।
आयोगले आफ्नो छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बुधबार सरकारलाई यस्तो सिफारिस गरेको हो। कार्कीले जेन्जी आन्दोलनलाई समर्थन गरेको आयोगको ठहर छ।
आयोगले कार्कीको पनि जेनजी आन्दोलनमा सहभागिता हुन सक्ने औँल्याएको छ। प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जालबाट देखिएको आयोगको ठहर छ।
राष्ट्रिय अनुसन्धान विभागले पनि उनीसहितका व्यक्तिहरू प्रदर्शनमा सहभागी हुन सक्ने भनि संकलन गरेको प्रतिवेदनमा उल्लेख छ।
