इरान सम्मानजनक बाटो खोज्न तयार

काठमाडौं ।  इरानी राष्ट्रपति मसूद पेजेशकियानले युद्ध अन्त्यका लागि आफ्नो देश एक सम्मानजनक विकल्प (बाटो) खोज्न तयार रहेको बताएका छन्। अमेरिकी सेनाको तर्फबाट भएको पछिल्लो आक्रमणपछि मंगलबार राष्ट्रपति पेजेशकियानको यस्तो भनाइ आएको हो।

इरानको सरकारी समाचार एजेन्सी ‘इरना’का अनुसार, मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीसँगको टेलिफोन वार्ताका क्रममा राष्ट्रपति पेजेशकियानले कतारको समर्थनका लागि धन्यवाद व्यक्त गरे।

सो क्रममा राष्ट्रपति पेजेशकियानले भने, ‘इरान सधैँ संवाद र सम्झौताको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै आएको छ।’उनले अगाडि थपे, ‘अब अर्को पक्षले आफ्ना प्रतिबद्धताहरू केवल शब्दमा मात्र सीमित नराखेर व्यवहारमै उतारेर देखाउने समय आएको छ।’ इरानी राष्ट्रपतिले क्षेत्रमा शान्ति र स्थिरता कायम गर्नका लागि स्पष्ट मार्गचित्र बनाउने प्रयास भइरहेको समेत उल्लेख गरे। यसका लागि आवश्यक दस्ताबेज र सम्झौताहरू तयार भइरहेको र तिनलाई अन्तिम रूप दिने कार्य तीव्र गतिमा अघि बढेको उनको भनाइ थियो।

यसैबीच, सोमबार इरानको बन्दर अब्बास र त्यहाँको विमानस्थल आसपासको क्षेत्रमा ठुलो विस्फोटको आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका थिए। पछिल्लो समय अमेरिकी सेनाले पनि सोमबार दक्षिणी इरानमा नयाँ हवाई आक्रमण गरेको पुष्टि गरेको छ। उक्त आक्रमणमा इरानको मिसाइल अखडा र ‘माइन’बिछ्याउने कार्यमा संलग्न डुङ्गाहरूलाई निशाना बनाइएको अमेरिकी दाबी छ। अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य कारबाही ‘आत्मरक्षा’का लागि गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर