आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा हाल तीनवटा मौसमी प्रणाली सक्रिय रहँदा आज देशका सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यस प्रणालीका कारण मुलुकका विभिन्न भागमा बदली, वर्षा र हावाहुरीको चेतावनी दिइएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने देखिन्छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना छ। यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आज तातो दिन (लु) हुने सम्भावना कायमै छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश र बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ। अहिले गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
