दोस्रो विवाह गरेको चार महिनामै श्रीमतीको हत्या !
काठमाडौं । खोटाङमा विवाह गरेको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३३ वर्षीय राजकुमार राईलाई २८ वर्षीया श्रीमती शान्ति चर्मकारको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ९ गते बिहान राईले श्रीमती लडेर मृत्यु भएको भन्दै आफन्तलाई खबर गरेका थिए । घटनास्थल पुगेका स्थानीयले घरभित्र खाटमाथि शङ्कास्पद अवस्थामा शव फेला पारेका थिए ।
वडा सदस्य मुगाधन राईका अनुसार मृतकको शरीरभरि निलडाम देखिएको थियो । शव गन्हाउन थालिसकेको र अनुहारलगायत शरीरका विभिन्न भागमा चोटपटकका स्पष्ट चिन्ह रहेको उहाँले बताउनुभयो । घरमा श्रीमान–श्रीमती मात्रै बस्ने भएकाले केही दिनअघि नै हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले कुटपिट गरी हत्या गरेको आरोपमा राईलाई पक्राउ गरी जेठ ११ गते जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । कानुनी प्रक्रिया पूरा गरी मृतकको अन्त्येष्टि परिवारले गरिसकेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार शान्ति चर्मकारले चार महिनाअघि मात्रै राजकुमार राईसँग दोस्रो विवाह गर्नुभएको थियो । उहाँका पहिलो श्रीमानतर्फ दुई र पाँच वर्षका दुई छोरा रहनुभएको छ । उहाँछोराछोरीसहित माइतीघरमा बस्दै आउनुभएको थियो ।
वडा सदस्य मुगाधन राईका अनुसार राजकुमार राई पटक–पटक झगडामा मुछिने गरेका थिए । विभिन्न युवतीलाई श्रीमती भन्दै घरमा ल्याउने र कुटपिट गर्ने गरेको आरोपसमेत उनीमाथि रहेको स्थानीयको भनाइ छ । केही समयअघि पनि एक युवतीलाई कुटपिट गरेपछि छिमेकीले उद्धार गरेर माइती पक्षको जिम्मा लगाएको बताइएको छ ।
