नेपालगन्जबाट पाँच किलो भन्दा बढी अफिम बरामद

काठमाडौं । पछिल्लो केही समययता आएर बाँकेको नेपाल भारत रूपैडिया नाकामा सुरक्षा व्यवस्था अतिनै कडा पारिएकोले प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध सामानहरु नियन्त्रणमा लिन थालेको छ । सो क्रममा पछिल्लो पटक सशस्त्र प्रहरीले नेपाल भारत नाका नजिकै नेपालगन्जबाट ठुलो परिमाणको अवैध लागू औषध अफिम र चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच किलो ५०० ग्राम अफिमजस्तो देखिने पदार्थ र पाँच ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो । अफिम र चरेस ओसारपसारमा संलग्न रहेको आरोपमा जिल्ला जुम्ला, साविक घोडेमहादेव गाविस–९ हाल तिला गाउँपालिका–७ निवासी तथा हाल कोहलपुर नगरपालिका–१० बस्दै आएका ६२ वर्षीय रणबहादुर रोकायालाई पक्राउ गरिएको छ ।

बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बागेश्वरीको विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताउनुभयो । सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ ।  सोही क्रममा उक्त लागूऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल ३० नं गणले विशेष सक्रियता देखाउँदै चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा विशेष ध्यान दिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चन्दले प्रष्ट पार्नुभयो ।

उहाँले सीमा नाकामा हुने गरेको अवैध आयात र तस्करीलाई शून्यमा झार्नुका साथै लागु औषध ओसारपसारलाई पनि पूर्ण रुपमा नियन्त्रण गर्ने गरि सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । अफिम र चरेस सहित पक्राउ परेका व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर