भारतको ककरोच जनता पार्टीको क्षणभरमै विश्वभर चर्चा

काठमाडौं ।  भारतको सामाजिक सञ्जालमा एउटा अनौठो “राजनीतिक पार्टी” निकै चर्चामा छ । यसको नाम “ककरोच जनता पार्टी” राखिएको छ । सुरुमा मजाक र व्यंग्यका रूपमा सुरु भएको यो अभियान अहिले इन्टरनेटमा ठूलो ट्रेन्ड बनेको देखिएको छ । सार्वजनिक दाबीअनुसार स्थापना भएको केही दिनमै हजारौँ मानिस यससँग जोडिएका छन् ।

भारतमा नयाँ राजनीतिक दल गठन हुनु कुनै नौलो विषय होइन । तर यसपटकको कथा भने फरक छ । यहाँ न त ठूलो सभा आयोजना गरियो, न कुनै भव्य मञ्च सजाइयो, न झण्डा र भीड देखियो । सम्पूर्ण अभियान सामाजिक सञ्जालबाट सुरु भयो र छोटो समयमै इन्टरनेटभर फैलियो ।

“ककरोच जनता पार्टी” नाम सुन्नासाथ धेरैले यसलाई सामान्य मजाक ठाने । तर जब यसको पोस्ट, घोषणापत्र र सदस्यता अभियान सार्वजनिक हुन थाले, तब यो चर्चाको विषय बन्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई केवल हास्यव्यंग्य मात्र नभई एउटा प्रतीकका रूपमा पनि हेर्न थालेका छन् । अहिले “सीजेपी” इन्टरनेटमा व्यापक चर्चा बटुलिरहेको छ ।

बताइएअनुसार बेरोजगार युवासम्बन्धी त्यहाँको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशले गरेको एउटा टिप्पणीपछि यो सम्पूर्ण विवाद सुरु भएको हो । उनले बेरोजगार जनताहरू अल्छी भएको अभिव्यक्ति दिँदै कक्रोचसँग उनीहरूलाई दाजेर दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भयो । कतिपयले असन्तुष्टि जनाए भने केहीले आफ्नै शैलीमा विरोध प्रकट गर्न थाले ।

यही क्रममा आम आदमी पार्टीका पूर्व सामाजिक सञ्जाल कार्यकर्ता अभिजीत दिपकेले नयाँ अवधारणा अघि सारे । उनले व्यंग्यात्मक शैलीमा “ककरोच जनता पार्टी” सुरु गरेका थिए । सुरुमा धेरैले यसलाई मजाकका रूपमा लिए पनि विस्तारै यो इन्टरनेटमा ट्रेन्ड बन्न थाल्यो । छोटो समयमै हजारौँ मानिस यससँग जोडिन पुगे र यसको पोस्टहरू तीव्र रूपमा भाइरल हुन थाले । समाचारअनुसार यो “पार्टी” ले स्थापना भएको केवल तीन दिनमै ७० हजारभन्दा बढी सदस्य बनाएको दाबी गरिएको छ ।

आखिर के हो ककरोच जनता पार्टी ?

यस अभियानसँग जोडिएका व्यक्तिहरूका अनुसार यो व्यवस्थाद्वारा बेवास्ता गरिएका मानिसहरूको आवाज हो । पार्टीको वेबसाइटमा पनि यसलाई बेरोजगार र उपेक्षित वर्गका मुद्दा उठाउने मञ्चका रूपमा प्रस्तुत गरिएको छ ।

यसको ट्यागलाइनले पनि धेरैको ध्यान तानेको छ । त्यहाँ आफूलाई लामो समयदेखि व्यवस्थाबाट अलग महसुस गर्ने मानिसहरूको आवाज भएको उल्लेख गरिएको छ । यद्यपि, यसलाई अहिले व्यंग्यात्मक अभियानकै रूपमा हेरिएको छ, तर सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले धेरैलाई आश्चर्यचकित बनाएको छ ।

पाँच बुँदे घोषणापत्रले तान्यो ध्यान

सबैभन्दा धेरै चर्चा यसको घोषणापत्रले पाएको छ । अन्य राजनीतिक दलझैँ ककरोच जनता पार्टीले पनि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेको छ । घोषणापत्रमा महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै, सञ्चारमाध्यमको निष्पक्षता कायम गर्ने, राजनीतिक दल परिवर्तन गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्ने लगायतका विषय समावेश गरिएका छन् । घोषणापत्रको अन्त्यमा यसलाई बारम्बार पढ्न र अरूसम्म पुर्‍याउन गरिएको अपिलले झन् चर्चा बढाएको छ । यही कारण यसको स्क्रीनसटहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर