नर्वेजियन पत्रकारको प्रश्न नलिँदा मोदीको विश्वभर नराम्रो चर्चा

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच देशको विदेश भ्रमणका क्रममा नर्वे पुग्दा एक महिला पत्रकारले सोधेको प्रश्न र त्यसपछिको घटनाक्रमले यतिबेला निकै चर्चा पाएको छ। नर्वेकी पत्रकार हेला लेंगले प्रधानमन्त्री मोदीलाई प्रेसको प्रश्न नलिएको विषयमा सार्वजनिक रूपमै प्रश्न गरेकी हुन्।

नर्वेका प्रधानमन्त्री योनास स्टोरेसँगको संयुक्त प्रेस ब्रिफिङ सकिएर मोदी बाहिरिन लाग्दा पत्रकार हेलाले सोधेकी थिइन्, ‘प्रधानमन्त्री मोदी, तपाईं विश्वकै सबैभन्दा स्वतन्त्र प्रेसका प्रश्नहरू किन लिनुहुन्न?’ बीबीसी हिन्दीसँगको कुराकानीमा हेलाले पत्रकार हुनुको नाताले शक्तिशाली देशका नेताहरूलाई प्रश्न सोध्नु आफ्नो जिम्मेवारी भएको बताएकी छन्।

उनले भनिन्, ‘जब कुनै शक्तिशाली देश हाम्रो सानो देशमा आउँछ र सम्बन्ध बलियो बनाउन चाहन्छ, तब उनीहरूलाई प्रश्न सोध्नु हाम्रो कर्तव्य हो। मलाई थाहा छ तपाईंका प्रधानमन्त्री प्रश्न लिन मन पराउनुहुन्न, तर प्रश्न सोध्नु मेरो धर्म थियो।’

भारतीय अधिकारीसँग चर्काचर्की
प्रधानमन्त्री मोदीले प्रश्नको जवाफ नदिई हिँडेपछि भारतीय दूतावास र विदेश मन्त्रालयले हेलालाई औपचारिक प्रेस ब्रिफिङमा आउन निम्तो दिएका थिए। सो ब्रिफिङमा हेला र भारतीय विदेश मन्त्रालयका सचिव सीबी जर्जबीच निकैबेर चर्काचर्की भएको थियो।

हेलाका अनुसार उनले भारतमा मानवअधिकारको अवस्था र प्रेस स्वतन्त्रताका विषयमा प्रश्न सोधेकी थिइन्। तर, भारतीय अधिकारीहरूले ती प्रश्नको सिधा जवाफ दिनुको सट्टा भारतले विश्वलाई दिएको योग र कोरोना भ्याक्सिनका बारेमा चर्चा गरेर विषय मोड्न खोजेका थिए।

हेलाले भनिन्, ‘म प्रेस कन्फरेन्समा कुनै देशको तारिफ सुन्न जाँदिनँ। मलाई मेरा प्रश्नको ठोस जवाफ चाहिन्छ, जुन त्यहाँ पाइएन।’

प्रेस स्वतन्त्रतामा आकाश-पातालको फरक
विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नर्वे विश्वकै पहिलो स्थानमा छ भने भारत पछिल्ला वर्षहरूमा खस्किएर १५७औं स्थानमा पुगेको छ।

नर्वेमा प्रधानमन्त्रीहरू दुर्गम गाउँमा जाँदा समेत त्यहाँका स्थानीय पत्रिकासँग कुरा गर्ने परम्परा रहेको उल्लेख गर्दै हेलाले भारतमा पत्रकारिता चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको टिप्पणी गरिन्।

उनले थपिन्, ‘भारतमा पत्रकारहरूले निकै सम्हालिएर काम गर्नुपर्ने अवस्था छ। म जबसम्म पत्रकारितामा रहन्छु, नर्वे आउने जुनसुकै राष्ट्रप्रमुखले प्रश्न नलिने प्रवृत्तिको विरोध गरिरहनेछु।’

भारतीय प्रधानमन्त्री मोदीले विदेश भ्रमणका क्रममा बिरलै मात्र प्रेसका प्रश्नहरू लिने गरेका छन्। यसअघि सन् २०२३ मा अमेरिका भ्रमण र २०२५ को फेब्रुअरीमा मात्र उनले सीमित प्रश्नहरूको सामना गरेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर