अमेरिकाको युद्ध अन्त्य गर्न इरानसामु पाँच सर्त

काठमाडौं । इरानसँग जारी युद्ध र शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकाले इरानसामु ५ वटा ठूला र कडा सर्तहरू राखेको छ। इरानको अर्ध-सरकारी सञ्चार माध्यम ‘फार्स न्युज एजेन्सी’ का अनुसार अमेरिकाले इरानको शान्ति प्रस्तावको जवाफमा यी सर्तहरू अघि सारेको हो।

यसैबीच, वार्तामा भइरहेको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, ‘इरानका लागि समय द्रुत गतिमा घर्कँदै छ । उनीहरूले चाँडो कदम चालेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ!’

इरानी सञ्चार माध्यमका अनुसार अमेरिकाले युद्ध अन्त्यका लागि राखेका सर्तहरू:-

१. क्षतिपूर्ति नदिइने: अमेरिकाले इरानमा गरेको बमबारीबाट भएको क्षतिको कुनै पनि क्षतिपूर्ति दिने छैन।

२. युरेनियम बुझाउनुपर्ने: इरानले आफ्नो भण्डारमा रहेको ४०० किलोग्राम सम्बर्द्धित युरेनियम अमेरिकालाई सुम्पनुपर्नेछ।

३. एउटा मात्र परमाणु केन्द्र: इरानमा अब मात्र एउटा परमाणु केन्द्र मात्र सञ्चालनमा रहन पाउनेछ।

४. सम्पत्ति फिर्तामा सीमा: अमेरिकाले रोक्का (फ्रीज) गरेको इरानको वैदेशिक सम्पत्तिमध्ये २५ प्रतिशतभन्दा बढी रकम फुकुवा गर्ने छैन।

५. वार्ताद्वारा युद्ध अन्त्य: लेबनानसहित सबै मोर्चामा जारी युद्धको अन्त्य वार्ताकै माध्यमबाट टुङ्ग्याउनुपर्ने। यद्यपि, यी सर्तहरूका बारेमा अमेरिका वा इरानका तर्फबाट आधिकारिक पुष्टि हुन भने बाँकी छ।

इरानको अडान र ट्रम्पको नयाँ अफर

यसअघि इरानले युद्ध रोक्नका लागि लेबनानसहितका सबै मोर्चामा इजरायली आक्रमण बन्द हुनुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हट्नुपर्ने, होर्मुज जलडमरुमध्यमा इरानको सार्वभौमिकता स्वीकार्नुपर्ने र युद्धको क्षतिपूर्ति पाउनुपर्ने माग राखेको थियो।इरानले आफ्ना मागहरू ‘जिम्मेवार र उदार’ रहेको बताए पनि ट्रम्पले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै अप्रिलको सुरुमा भएको युद्धविराम संकटमा परेको सङ्केत गरेका थिए।

यसैबीच, ट्रम्पले इरानलाई नयाँ अफर पनि दिएका छन्। उनले इरानले आफ्नो परमाणु कार्यक्रम स्थायी रूपमा बन्द गर्नुको साटो २० वर्षका लागि निलम्बन गरे पुग्ने बताएका छन्, जसलाई ट्रम्पको लचिलो नीतिका रूपमा हेरिएको छ। हाल पाकिस्तानले यी दुई देशबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर