१०० रुपैयाँको भन्सारमाथि सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमाथि रोक लगाएको छ । सर्वोच्चले भन्सार शुल्कमा रोक लगाएसँगै विशेषगरी मधेस तराईमा बसोबास गर्ने ठूलो संख्याका नागरिकले राहत पाउने छन् । हिजो शुक्रबार (जेठ १) मा सरकारसँगको छलफलपछि सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँ भन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको कामकारबाहीमाथि अन्तरिम आदेशमार्फत रोक लगाएको हो ।

सर्वोच्चले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयसहितका निकायलाई अन्तरिम आदेश दिएको हो । नेपाल–भारत सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने कार्य सन् १९६० मा गरिएको नेपाल–भारत व्यापार सन्धिका प्रावधानविरुद्ध रहेको दाबी गर्दै अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ रिट दायर गरेका थिए ।

दैनिक उपभोग्य वस्तुमा भन्सार लगाउँदा मधेसी समुदायमा ठूलो असर पारेको प्रश्न उनीहरुले रिटमा उठाएका थिए । साथै, नेपाल–चीन सीमा नाका वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रीहरूका लागि भन्सार छुटको सीमा बढी भएको तर खुला सिमाना रहेको भारतबाट आउने नागरिकका लागि छुट नहु्ँदा एकै देशका नागरिकबीच विभेद भएको दाबी समेत उनीहरुको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर