एनसेलबाट स्मार्ट टेलिकमको कागजात सीआइबीको नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट स्मार्ट टेलिकमसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । स्मार्ट टेलिकमको अर्बौँ मूल्यको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्री गरी सरकारको हक टुटाउन खोजिएको विषयको अनुसन्धानका क्रममा सीआईबीले कम्पनीको कार्यालयमा पुगेर महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको हो ।
सीआईबी स्रोतले अनुसन्धानका क्रममा कागजात लिने कार्य भएको र छापा भने नपारिएको बताएको छ । स्मार्ट टेलिकमले नियमानुसार नवीकरण दस्तुर र अन्य राजस्व बुझाउन नसकेपछि ३ वैशाख २०८० मा कम्पनीको लाइसेन्स स्वतः रद्द भएको थियो । दूरसञ्चार ऐन, २०५३ र अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार लाइसेन्स रद्द भएपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र नेटवर्क नेपाल सरकार अर्थात् नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने कानुनी व्यवस्था छ ।
