यस वर्ष वर्षा कम, गर्मी बढी हुने सम्भावना : मौसम विभाग
काठमाडौं । यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको जलवायु विज्ञान महाशाखाले आज शुक्रबार ९वैशाख २५ गते० जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो।
विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा नभई केही दिन अघि वा पछि नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ। मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। तर यो पनि केही दिन अघि पछि हुन्छ।
मौसम विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।
यस वर्ष मनसुनमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तरपूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेश पश्चिमि भूभाग, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ।
कोसी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।
