शेरबहादुर दम्पतीलाई पक्रन इन्टरपोलको सहयोगको खोजी

काठमाडौं ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध कानुनी कारबाही रेड नोटिस जारी गर्न इन्टरपोलको सहयोग मागिएको छ ।

सम्पत्ति शुद्धीकरणको गम्भीर अभियोगमा पक्राउ पुर्जी जारी भएपछि उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको सहयोग माग्दा इन्टरपोलका अधिकारीहरुले थप काजजात खोजेको नेपाल प्रहरीले जनाएको छ ।

नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले देउवा दम्पतीलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलको मुख्यालयमा पत्राचार गरेको थियो। तर, इन्टरपोलले रेड नोटिस जारी गर्नुअघि अभियोगको गम्भीरता र कानुनी पुष्टिका लागि थप विवरण र ठोस कागजात माग गरेको हो।

रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई जहाँ भेटिए पनि पक्राउ गरी नेपाल सुपुर्दगी गर्न सक्ने बाटो खुल्नेछ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। सोही क्रममा घरभित्र जलेका नोटहरू फेला परेको भिडियो सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। देउवाका नातेदारहरू प्रदीप शमशेर जबरा, भूषण राणा र छोरा जयवीर देउवाको व्यावसायिक कारोबारमाथि पनि  अनुसन्धान भइरहेको छ।

चुनावको पूर्वसन्ध्यामा गत १४ फागुनमा उपचारको बहाना बनाएर सिंगापुर उडेका देउवा दम्पती अहिलेसम्म स्वदेश फर्किएका छैनन्। उनीहरू ७ चैतमा हङकङ पुगेको र हालसम्म त्यहीँ रहेको बुझिएको छ। पक्राउ पुर्जी जारी हुँदा उनीहरू देश बाहिरै रहेकाले प्रहरीले अन्तर्राष्ट्रिय संयन्त्रको सहारा लिनुपरेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर