फिल्मी शैलीमा लुटपाट गर्ने पक्राउ

काठमाडौं ।  भिडभाडयुक्त इन्द्रचोकमा दिनदहाडै पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते भएको उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जनमानसमा फैलिएको त्रास र कौतुहलताको अन्त्य गर्दै प्रहरीले तीन आरोपीलाई सार्वजनिक गरेको हो।

इन्द्रचोकस्थित ‘नैना एन्ड इसन ज्वेलर्स’मा वैशाख १७ गते दिउँसोको दृश्य कुनै फिल्मी दृश्यभन्दा कम थिएन। पसलमा एक महिला कर्मचारी एक्लै बसिरहेकी थिइन्। अचानक कालो कपडा, हेलमेट र नकाब लगाएका दुई व्यक्ति भित्र प्रवेश गर्छन्। उनीहरूले तत्कालै ती महिलाको टाउकोमा पेस्तोल तेस्र्याउँछन्।

तर, ती महिला डराउनुको साटो साहसका साथ प्रतिरोधमा उत्रिइन्। उनले कडा प्रतिकार गरेपछि अत्तालिएका लुटेराहरू रित्तो हात त्यहाँबाट फरार भएका थिए।

घटनालगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपरेशन सुरु गरेको थियो। एसपी पवनकुमार भट्टराईका अनुसार लुटपाट प्रयासमा संलग्न मुख्य दुई व्यक्तिहरू विकेश राजवाहक र अरूण भुजेल लाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको एउटा पेस्तोल समेत बरामद भएको छ। त्यस्तै, घटनामा संलग्न अर्का आरोपी हरिकृष्ण महर्जनलाई ललितपुरबाट अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार इन्द्रचोकको ज्वेलर्समा लुटपाट असफल भए पनि सोही दिन नजिकैको अर्को एक पसलमा चोरी भएको थियो। पक्राउ परेका व्यक्तिहरू उक्त चोरीको घटनामा समेत संलग्न हुन सक्ने बलियो आधार फेला परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर