केही राजमार्गमा यातायात सञ्चालन, विपी हाइ-वे ठप्प

काठमाडौं ।  निरन्तर वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गहरूमा यातायात पुनः सुरु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार मङ्गलबार साँझदेखि केही सडकखण्डहरू पूर्ण तथा केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

सोमबार साँझको वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग र मकवानपुर भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको छ।

त्यसैगरी भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड अहिले एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्। यद्यपि केही महत्वपूर्ण सडकखण्डहरू अझै पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

इलामको रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने तथा ४०० बेँसीस्थित बीपी राजमार्ग सडकखण्डका साथै लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको प्रवक्ता काफ्लेले बताए।

वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर