पशुपति गौशाला धर्मशाला मारवाडीको पञ्जाबाट मुक्त

काठमाडौं ।  उच्च अदालत पाटनले २३ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले सोमबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको ‘पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।

काठमाडौँ जिल्ला अदालतको फैसलापछि मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोष, कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर २०८१ मङ्सिर २१ गते उच्च अदालत पाटनमा पशुपति क्षेत्र विकास कोषसँगको करार कायम गरिपाऊँ शीर्षकमा मुद्दा दायर गरेको थियो । अधिवक्ता कृष्णमुरारी पुडासैनीका अनुसार काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर गरेपछि अब मारवाडी सेवा समितिले पुनरावेदनमा जान पाउँदैन । उहाँले भन्नुभयो, “दुवै न्यायालयबाट पशुपति क्षेत्र विकास कोषको पक्षमा फैसला भएपछि दोहो¥याइपाऊँ भनेर मात्रै निवेदन गर्न पाइन्छ ।”

२०८१ असोज १६ गते काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले गरेको फैसलाको पूर्ण पाठमा पशुपति गौशाला धर्मशालाको साबिक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठह¥याइएको छ ।

२०८० साउन २४ गते दायर मुद्दामा फैसला गर्दै जिल्ला अदालतले धर्मशालाको जग्गामा मारवाडी सेवा समितिले आफ्नो मोही हक रहेको दाबी गरे पनि सो जग्गामा समितिको मोही अधिकार अस्वीकार गरिएको भनिएको छ । फैसलामा ‘साबिक समयदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको देखिँदैन । सो तथ्यलाई वादी मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिन्छ’ भनिएको छ ।

फैसलामा ‘जग्गा श्री पशुपति अमालकोट कचहरीमा दर्ता भएका गुठीको जग्गा भन्‍ने तथ्यमा विवाद नदेखिए पनि श्री पशुपतिनाथ अमालकोट कचहरीबाट मोही दर्ता भई मोही दर्ताको प्रमाण पुर्जा प्राप्‍त गरेको भनी सोको छायाकपी पेस गरी सो दर्ता अभिलेखमा दाबीको जग्गाको मोही महलमा श्री पशुपति गौशाला धर्मशाला रहेको तथ्यलाई मुख्य आधार लिएको देखियो’ भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर