इरानका सर्वोच्च नेता मोजतबा खामेनेई पूर्ण सुरक्षित
काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिएका आशंकाहरूलाई इरानी अधिकारीहरूले खारेज गरेका छन्। खामेनेईको कार्यालयले उनी पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको दाबी गर्दै बाह्य अड्कलबाजीलाई ‘मनोवैज्ञानिक दबाब’ को संज्ञा दिएका छन्।
विशेषज्ञ सभाका सदस्य एवं उपआयातुल्लाह मोहसेन कोमीले खामेनेईको स्वास्थ्यबारे उठाइएका प्रश्नहरूलाई पश्चिमी रणनीतिको हिस्सा भएको टिप्पणी गरेका छन्। उनले खामेनेईको सार्वजनिक उपस्थिति कम भएको विषयलाई भ्रम फैलाउने प्रयास भइरहेको जिकिर गरेका छन्।
कोमीले अघिल्लो घटनाबारे स्पष्ट पार्दै खामेनेई एउटा बम आक्रमण भएको भवनमा उपस्थित रहेको पुष्टि गरेका छन्। उनका अनुसार विस्फोट हुनुभन्दा केही मिनेटअघि मात्र स्थान परिवर्तन गरेका कारण खामेनेईको ज्यान जोगिएको थियो।
त्यो घटनामा अन्य व्यक्तिको मृत्यु भए पनि सर्वोच्च नेता सामान्य चोटपटकपछि अहिले पूर्ण स्वस्थ्य भई आफ्नो जिम्मेवारीमा फर्किसकेको इरानले जनाएको छ। इरानले जनाएअनुसार हाल खेमेनेई रणनीतिक निर्णय, कूटनीतिक वार्ता, सुरक्षा व्यवस्थालगायतलाई निगरानी गरिहेका छन्।
यसअघि फेब्रुअरी २८ मा पूर्वसर्वोच्च नेता अली खामेनेईको परिसरमा भएको हवाई आक्रमणपछि मोजतबा खामेनेई सार्वजनिक रूपमा कम देखिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी गम्भीर घाइते भएको वा उपचारमा रहेको दाबी गरेका थिए। भारतस्थित इरानी प्रतिनिधि मोहम्मद हुसेन जियेनियाले पनि ती दाबीहरूलाई नकार्दै सर्वोच्च नेता सामान्य अवस्थामा रहेको बताएका छन्।
