वार्ताको आशमा अराघची पाकिस्तानमा
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची ओमानको भ्रमण सकेर आइतबार साँझ पुनः पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन्। इरानी सरकारी सञ्चारमाध्यम इस्नाका अनुसार, उनी मध्यपूर्वमा जारी युद्ध पूर्ण रूपमा अन्त्य गर्न पाकिस्तानी मध्यस्थतामा अमेरिकासँग हुन सक्ने सम्भावित वार्ताका लागि त्यहाँ पुगेका हुन्।
अराघचीले पाकिस्तानी अधिकारीहरूसँगको भेटमा युद्धविराम र क्षेत्रीय शान्तिका लागि इरानको स्पष्ट अडान र अवधारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। अराघची शनिबार मात्र इस्लामाबादबाट बाहिरिएका थिए, जसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान जान लागेको आफ्नो प्रतिनिधिमण्डलको यात्रा स्थगित भएको घोषणा गरेका थिए। अराघचीले इरानको स्थिति स्पष्ट पारिसकेको भन्दै अब वार्तालाई अगाडि बढाउने जिम्मेवारी अमेरिकाको हातमा रहेको बताएका छन्।
उनले अमेरिका कूटनीतिको विषयमा कति गम्भीर छ भन्ने कुरा अझै स्पष्ट नभएको टिप्पणी समेत गरेका छन्। इरानी विदेशमन्त्रीको दौडधुप चलिरहँदा विश्वका शक्तिशाली नेताहरूबीच पनि सघन संवाद भइरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरबीच आइतबार भएको टेलिफोन वार्तामा ‘स्ट्रेट अफ हर्मुज’ मा अवरुद्ध समुद्री यातायात पुनः सुचारु गर्नुपर्ने विषयमा गम्भीर छलफल भएको छ।
हर्मुज जलसन्धि बन्द हुँदा विश्व अर्थतन्त्र र दैनिक जीवनयापनको लागतमा परिरहेको नकारात्मक प्रभावप्रति स्टार्मरले चिन्ता व्यक्त गरेका छन्। यसबारे स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग पनि ट्रम्पलाई समुद्री मार्गको स्वतन्त्र आवागमन पुनःस्थापना गर्न भइरहेका संयुक्त पहलका बारेमा जानकारी दिएका छन्।
क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप अराघचीले आइतबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग पनि टेलिफोन वार्ता गरेका छन्। सो क्रममा उनीहरूले युद्धविरामका वर्तमान चुनौती र कूटनीतिक प्रयासहरूलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल गरेका थिए। इरानले युद्ध अन्त्य र तनाव न्यूनीकरणका लागि निरन्तर कूटनीतिक मार्ग रोजिरहेको अराघचीले कतारी प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
