१८ सय प्रहरीको कमाण्डमा मनोहरामा सुकुमबासी अपरेशन

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।”

यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।

स्थानान्तरण गरिएका सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।

यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिनुभएको छ । पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिनुभएको छ ।

यसै गरी सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका सस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएको छ। साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर