सुकुमबासीलाई लज र खानपिनको व्यवस्था
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले आज वैशाख १३ गते आइतवार पनि सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
सचिवालयका अनुसार शनिवार बाँकी रहेका संरचनाहरू भत्काउन तथा जग्गा खाली गर्न सरकारी टोली आइतवार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ स्थित गोठाटार, बुद्धचोक तथा वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ ।
बस्तीमा रहेका भौतिक संरचना भत्काउनु पूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए ।आज दिउँसो हिजो बाँकी रहेका काठमाडौँ वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिने छ ।
हिजो काठमाडौँ वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो । उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो । बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन् । उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ ।

