सुकुम्वासीको नाममा अरू नै टाठाबाठाले फाइदा उठाए : नेपाल प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सरकारले वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्न लागेकाले सहयोग गर्न अपिल गरेको छ ।

आफ्नो फेसबुक पेजमार्फत शुक्रबार जारी सूचनामा भनिएको छ, “वास्तविक सुकुम्वासीको नाममा अरू नै टाठाबाठाले फाइदा उठाइरहेका छन् । त्यो कुरा तपाईंहरूलाई पनि थाहा नै छ । अब सरकारले तपाईंहरूको दीर्घकालीन समस्या समाधान गर्ने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्छौं ।”

उपत्यकाका थापाथली, मनोहरा र गौरीगाउँमा अवैध रूपमा बसोबास गरिरहेका सुकुम्बासीलाई सरकारले शनिबार र आइतबार ९वैशाख १२–१३० हटाउने घोषणा गरेको छ ।

अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी तथा पर्ति जग्गाहरूमा अवैध रूपमा बनाइएका घरटहराहरू आज साँझ ७ः०० बजेसम्ममा खाली गर्न सूचना जारी गरेको छ ।

सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा आज जारी अत्यन्त जरुरी सूचनामा सार्वजनिक आवागमन र सहरी अतिआवश्यक पूर्वाधारको निर्माण र नदीको बहावसमेतलाई प्रतिकूल प्रभाव पार्नेगरी एवं आफ्नो जीउज्यानसमेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घरटहरा तथा घरटहरामा रहेका व्यक्तिहरूलाई सो आग्रह गरेको हो ।

घरटहरा आफैँले खाली गर्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ । त्यस्ता घरटहराहरूमा रहेका आफ्ना निजी सरसामान, लत्ताकपडा, घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न पनि भनिएको छ ।

घरटहरामा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिँदै अन्यत्र सुरक्षित स्थानमा सार्न सूचनामा भनिएको छ । वैशाख १२ गते बिहान ६ः०० बजेदेखि त्यस्ता घरटहरा भत्काउने, अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुने र कोही कसैले बाधा अवरोध सृजना गरेमा कानुनबमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

सूचनामा सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङ गर्ने कार्य तत्काल सुरु हुने जानकारी दिइएको छ ।

आगामी १०–१५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्न तयारी भइरहेको छ । “यदि कोही कसैले यस सूचनालाई अटेरी गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकासमेतको संयुक्त कारबाहीबाट भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं हुनेहुनेछ”, सूचनामा उल्लेख छ ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ 

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार(परिश्रमी) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले परिश्रमीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै बैंकिङ कसुरको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

पछिल्लो समय काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्ती हटाउने सरकारको निर्णय र त्यससँग जोडिएका सुरक्षा व्यवस्थाका कारण उक्त क्षेत्रमा तनाव सिर्जना भइरहेको छ।

अब सुकुमवासीको वास नागार्जुनमा

काठमाडौँस्थित नदी किनारमा रहेका सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई नागार्जुनस्थित भवनमा राखिने भएको छ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकलाई सुरुमा होल्डिङ सेन्टरमा लगिने र त्यहाँ वास्तविक पीडित पहिचान गरी नागार्जुनस्थित भवनमा व्यवस्थापन गरिने जानकारी दिएका हुन् ।

‘तत्काललाई उहाँहरूलाई होल्डिङ सेन्टरमा राख्छौँ। त्यहाँ उहाँहरूको सेग्रिगेसन (छुट्याउने काम) हुन्छ’,  ‘त्यसपछि उहाँहरू (वास्तविक सुकुमवासी) लाई नागार्जुनमा रहेका भवनमा लगिनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर