अमेरिकी नौसेना सचिव जोन फेलेनलाई पदबाट हटाइयो

काठमाडौं ।  अमेरिकी रक्षा मन्त्रालयले नौसेना सचिव जोन फेलेनलाई पदबाट हटाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पछिल्लो समय उच्च सैन्य अधिकारीहरू हटाइने क्रममा फेलेन नयाँ सिकार बनेका हुन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलले फेलेनको स्थानमा अब उपसचिव हङ काओले कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्।

इरानसँगको तनाव र हर्मोज जलसन्धिमा जारी नौसैनिक नाकाबन्दीका बीच यो महत्त्वपूर्ण फेरबदल भएको हो। रक्षा सचिव पिट हेगसेथले कार्यभार सम्हालेयता एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई पदमुक्त गरिसकेका छन्।

व्यावसायिक पृष्ठभूमि भएका र ट्रम्पका ठूला चन्दादातासमेत रहेका फेलेनलाई सन् २०२५ मार्चमा नौसेना सचिव नियुक्त गरिएको थियो। ट्रम्पको महत्त्वाकांक्षी परियोजना ‘गोल्डेन फ्लिट’ निर्माणमा सोचेजस्तो प्रगति नभएका कारण फेलेनलाई हटाइएको विश्लेषण गरिएको छ।

नवनियुक्त कार्यवाहक सचिव हङ काओ २५ वर्ष नौसेनामा बिताएका अनुभवी कमान्डर हुन्। सन् २०२४ को सिनेट चुनावमा भर्जिनियाबाट उम्मेदवार बनेका काओ ट्रम्पका कट्टर समर्थक मानिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर