वैशाख १० सम्म हिट वेभ, बच्न आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् ‘हिट वेभ’ को सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना देखिएको छ। यसका साथै मधेश प्रदेशका सम्पूर्ण भू-भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका साथै खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने अनुमान गरिएको छ भने अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ।
तातो हावा र तातो लहरका कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरू देखिन सक्ने भएकाले यसप्रति सजग रहन चिकित्सक र मौसमविद्हरूले सुझाव दिएका छन्। यसको प्रभावले शरीरमा थकान लाग्ने, कमजोरी महसुस हुने, अत्यधिक तिर्खा लाग्ने र टाउको दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन्। त्यस्तै खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा वान्ता हुने जस्ता स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी देखिएको छ।
