अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा
काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री समीर पाल कपुर सोमबार तीनदिने भ्रमणका लागि नेपाल आएका छन् । उनी आज बिहान सवा ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । नयाँ सरकार गठन भएको एक महिना नबित्दै अमेरिकाबाट उच्चस्तरीय कूटनीतिज्ञ नेपाल आएको हो।
नेपालमा बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपाल आउने कपुर पहिलो उच्चस्तरको कूटनीतिज्ञ हुन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार कपुर नयाँ सरकारलाई बधाई दिन र काठमाडौंको प्राथमिकता बुझ्न आएका हुन् । साथै, वाशिङ्टनले नेपालसँग कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश पनि उनीमार्फत दिइनेछ । कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि साथमा छन् ।
नेपाल बसाइँका क्रममा कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका वाणिज्य संघका पदाधिकारीहरूसँग भेट गर्नेछन् । तर प्रधानमन्त्री शाहसँग पनि उनको भेटबारे केही बताइएको छैन ।
