अभियुक्त दीपक भट्ट कनेक्सनपछि गृहमन्त्री विवादमा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) सभापति रवि लामिछानेबिच छलफल भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुपलगायतसँग मन्त्री गुरुङ व्यापारिक साझेदार भएको समाचार सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।
यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछानेलाई भेट्न गुरुङ बुढानीलकण्ठस्थित निवास पुगेका थिए । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र पनि छलफल भएपछि उनले सभापतिलाई भेटेका हुन् । रास्वपाको सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पनि गुरुङको विषयमा छलपल हुने बताइएको छ । पार्टीको अनुशासन आयोगले पनि यस विषयमा आन्तरिक गृहकार्य थालेको छ ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो । त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए ।
