इरान र अमेरिकाबीच केही महत्वपूर्ण विषयमा असहमति

काठमाडौं ।  इरान र अमेरिकाबीच भइरहेको अप्रत्यक्ष वार्तामा केही महत्वपूर्ण विषयमा सहमति हुन नसकेको इरानी विदेश मन्त्रालयले जनाएको छ। बीबीसी फारसी सेवाका अनुसार मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तानको मध्यस्थतामा भएका करिब दुई दर्जनभन्दा बढी चरणका वार्तामध्ये अधिकांशमा प्रगति भए पनि दुई–तीन संवेदनशील बुँदामा अझै मतभेद कायम रहेको बताएका हुन्।

उनले इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै सबै विषयमा एकैपटक सहमति हुने अपेक्षा अव्यावहारिक भएको बताए। विशेषगरी क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दा र होर्मुज जलडमरू जस्ता विषय थपिँदा वार्ता झन् जटिल बनेको उनको भनाइ छ।

यसअघि पनि उनले वार्ता “अविश्वासको वातावरण”मा सुरु भएको उल्लेख गर्दै छोटो समयमै ठोस निष्कर्षमा पुग्ने सम्भावना कम रहेको बताएका थिए। उनका अनुसार लामो तनाव र द्वन्द्वपछि सुरु भएका यस्ता संवादमा धैर्य आवश्यक हुन्छ। इरानले भने कूटनीतिक प्रयासलाई निरन्तरता दिने स्पष्ट पारेको छ। पाकिस्तानसहित क्षेत्रीय साझेदारहरूसँग समन्वय र संवाद जारी राख्ने बताउँदै बकाईले कूटनीति नै राष्ट्रिय हित जोगाउने मुख्य माध्यम भएको दोहोर्‍याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर