देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी, देउवाले भने, भ्रामक र झुटो प्रचार
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको जनाइएको छ । हाल देउवा दम्पती विदेशमा छन् ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको र पक्राउ पूर्जी जारी भएको समाचारहरूप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको र इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाएको समाचारहरू सार्वजनिक भइरहँदा देउवाले विदेशबाटै आफ्नो प्रस्टीकरण दिएका हुन् ।
उनले आफ्नो र परिवारको सम्पत्तिका बारेमा भ्रामक र झुटो प्रचार भइरहेको बताए । उनले सार्वजनिक पदमा रहँदा कानुन अनुसार आफ्नो सम्पत्तिका सबै यथार्थ विवरण सम्बन्धित निकायमा बुझाउँदै आएको दाबी गरे ।
