अमेरिकी सेना प्रमुख बर्खास्त
काठमाडौं । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको युद्ध चर्किएकै अवस्थामा सेना प्रमुख जनरल र्यान्डी जर्जलाई पदबाट हटाएका छन्। हेगसेथले जर्जलाई राजीनामा दिन र तत्काल अवकाश लिन निर्देशन दिएपछि यो कदम चालिएको हो।
रक्षा मन्त्रालयका प्रवक्ता सीन पार्नेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनरल र्यान्डी जर्जले ४१ औं सेना प्रमुखको रूपमा तत्काल लागू हुने गरी अवकाश लिँदै हुनुहुन्छ। राष्ट्रका लागि उहाँले पुर्याउनुभएको दशकौँ लामो सेवाप्रति विभाग कृतज्ञ छ र उहाँको सुखद अवकाशको कामना गर्दछ।’
इरानसँगको युद्ध सुरु भएको एक महिनाभन्दा धेरै समय भएसँगै भएको यो कारबाहीलाई विशेष मानिएको छ। अमेरिकी सेनाले सम्भावित जमिनी आक्रमणका लागि हजारौँ सैनिकहरू मध्यपूर्व पठाइरहेको संवेदनशील समयमा यो बर्खास्ती भएको छ। युद्धको समयमा यसरी उच्च सैन्य नेतृत्व परिवर्तन गर्नुलाई असामान्य मानिन्छ।
सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका जर्जको कार्यकाल २०२७ सम्म थियो। तर हेगसेथले रक्षा मन्त्रालय सम्हालेयता सैन्य नेतृत्वमा गरिरहेको ठुलो हेरफेरको सिलसिलामा जर्ज पनि परेका हुन्। जर्जसँगै अन्य दुई उच्च जनरलहरू जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीनलाई पनि पदबाट हटाइएको छ।
