रविले भने, प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउन पर्छ

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे ।

“हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ”, सभापति लामिछानेले भने, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणित गर्नुपर्नेछ ।”

आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उनले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए । सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले जातीय र लैंगिक आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए ।

विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उनले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गरे । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हित केन्द्रित हुने पनि बताए । गैरआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उनले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताए ।

दलित समुदायमाथि भएको अन्यायप्रति माफी
लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागे । उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ । चुनावी दौडमा रहँदा उहाँका विषयमा विवाद आयो। थाहा छैन, उहाँले गल्ती गर्नुभयो या भएन। तर उहाँले माफी माग्नुभयो। उहाँले गल्ती गर्नुभयो कि गर्नुभएन भन्ने अन्योलबीच पनि उहाँले छिट्टै माफी माग्नुभयो ।’

लामिछानेले त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सिङ्गो देशलाई सम्बोधन गर्दै भने, ‘खगेन्द्र सुनारहरूमाथि युगौँयुगसम्म गरेको अन्यायको लागि हामीले माफी माग्यौँ ।’ उनले सदनबाट पहिलोपटक सामूहिक रूपमा ऐतिहासिक विभेदप्रति क्षमायाचना गरिएको दाबी गरे । उनले भने, ‘यो केवल सामाजिक गल्ती थिएन, संगठित अपराध थियो ।’

उनका अनुसार शताब्दीयौँदेखि सीप भएका समुदायलाई अछूत ठान्ने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गरेको थियो । उनले अब जातका आधारमा कसैले पनि झुक्न नपर्ने उल्लेख गर्दै सरकारको तर्फबाट पुनः माफी मागेका हुन् । ‘यो देश किन बनेन थाहा छ । किनकी जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौंँ। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट माफी माग्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर