यही चैत २२ गतेभित्रै प्रतिनिधिसभाको सभामुख चुनिने
काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठकले प्रतिनिधिसभाको सभामुख यही चैत २२ गतेभित्रै चुनिने कार्यसूची तय गरेको छ।
आज बुधबार बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका प्रकाशित गर्न महासचिवलाई जिम्मेवारी दिने सहमति जुटाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार अपराह्न २ बजेट सङ्घीय संसद् बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न उक्त सर्वदलीय बैठक बोलाइएको हो ।
बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरू सहभागी थिए । यसैगरी, कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री सोविता गौतम सहभागी थिइन् ।
नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्ने छ । सङ्घीय संसद्को प्रतिनिधिसभामा २७५ जना सदस्य रहेका छन् । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ३७ सिट, एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरू नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरू हुन् ।
भोलि बस्ने बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा आज बुधबार सङ्घीय संसद् सचिवालयले सो बैठक बोलाएको हो । बैठकमा सरकारका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। रास्वपाले संचवत आफ्ना पार्टीका सांसद डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।
