काठमाडौंबाट यातायातका १६ जना बिचौलिया पक्राउ, महेन्द्रनगरमा प्रवेश निषेध
काठमाडौं । काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख दिने गरेको सम्बन्धमा प्रहरी टोलीले १६ जनालाई पक्राउ गरेको छ।
हिजो मङ्गलबार प्राप्त सूचनाका आधारमा खटिएको टोलीले एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिले आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट पक्राउ परेकाहरू ३६ वर्षीय बलबहादुर सुनार, ३९ वर्षीय विज्ञान राई, ३१ वर्षीय संजय राजवाहक, ३६ वर्षीय विमल तामाङ, ३५ वर्षीय रमेश कार्की, ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, ३९ वर्षीय उद्धव खनाल र ३६ वर्षीय कल्पना लम्साल रहेका छन् ।
यसैगरी, प्रहरी वृत्त थानकोटबाट पक्राउ परेकाहरू २५ वर्षीय पासाङ तामाङ, ३० वर्षीय शुनिल लामा, २३ वर्षीय सुदिप मगर, २० वर्षीय बुद्ध तामाङ, २६ वर्षीय सुमेश नेपाली, २४ वर्षीय अमन तामाङ, १८ वर्षीय उज्वल सिंह र २६ वर्षीय दिलिप राई रहेका छन् । प्रहरीले हाल आवश्यक अनुसन्धान कार्य अगाडि बढाइरहेको र सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएको छ।
यसैगरी यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिनेलगायत काम गरिदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम लिने तथा हैरानी दिने गरेको जनगुनासो कार्यालयमा पटकपटक आएपछि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
