नियमविपरीत भर्ना प्रक्रिया अगाडि बढाएमा कारबाही : भनपा
काठमाडौं । भक्तपुर नगरपालिकाले वार्षिक परीक्षा नसकिँदै केही निजी विद्यालयले भर्ना सुरु गरेपछि नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना नगर्न नगरभित्रका विद्यालयहरूलाई निर्देशन दिएको छ ।
नगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा शिक्षा नियमावली २०७९ (संशोधनसहित) अनुसार शैक्षिक सत्र औपचारिक रूपमा सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ । सूचनामा नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले उक्त प्रावधानको पालना गर्नुपर्ने शिक्षा शाखाका आठौं तहका अधिकृत साधुराम फुयाँलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नियमविपरीत भर्ना प्रक्रिया अगाडि बढाएमा कारबाही हुनसक्ने संकेत गर्दै उक्त सूचनामा नियमअनुसार मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न आग्रह गरिएको छ । नगरपालिकाले यस कदमले शैक्षिक प्रणालीलाई व्यवस्थित, पारदर्शी र समान अवसरमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताइएको छ ।
