वैदिक शान्ति मन्त्रोच्चारण र शंखघोषबिच बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिउँसो पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
संविधानको धारा ७६(१) अनुसार बहुमतसहित सरकार गठन गर्न लागेका बालेनलाई शपथअघि औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूले पनि आजै शपथ लिने तयारी रहेको बताइएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत ल्याएको थियो। सोही आधारमा बिहीबार बसेको दलको बैठकले बालेनलाई संसदीय दलको नेतामा चयन गरेको हो। झापा–५ बाट निर्वाचित बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका थिए ।
बालेनको शपथ ग्रहण समारोह पूर्व १०८ वटुकहरूको वैदिक शान्ति मन्त्रोच्चारणसँगै, १६ जना बौद्ध लामा गुरुजनले मंगल पाठ तथा सात जना ब्राह्मणहरूको शंखघोषले यसपटकको शपथ ग्रहण समारोह अद्वितीय रहने भएको छ ।
