सम्पत्ति शुद्धीकरणतर्फ गृह मन्त्रालयको कडा कदम

काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी न्यूनीकरण गर्ने उद्देश्यले सर्वसाधारण र सम्बन्धित निकायहरूसँग सहयोगको अपिल गरेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै शङ्कास्पद व्यक्ति वा समूहका बारेमा जानकारी गराउन आग्रह गरेको हो।

मन्त्रालयले विशेष गरी संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्द्वारा सूचीकृत गरिएका व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित कुनै पनि सूचना वा मनासिब आधार प्राप्त भएमा त्यसको जानकारी गोप्य रूपमा उपलब्ध गराउन भनेको छ। कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो कामकारबाहीका क्रममा अनाधिकृत वा शङ्कास्पद आर्थिक गतिविधि गरेको पाइएमा तुरुन्त खबर गर्न मन्त्रालयले सूचित गरेको छ।

यस्ता सूचनाहरू नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन वा प्रदेश समन्वय शाखामा उपलब्ध गराउन सकिने मन्त्रालयले जनाएको छ। यो आग्रह सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र भर्खरै जारी भएको सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को प्रावधान बमोजिम गरिएको हो।

यस कदमले अवैध धनलाई वैध बनाउने प्रक्रिया रोक्न र मुलुकको वित्तीय प्रणालीलाई थप सुरक्षित र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास मन्त्रालयले लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर