सदाका लागि होर्मुज जलडमरू बन्द गर्ने इरानको चेतावनी
काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजिसी) ले अमेरिकाले आफ्नो ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुज जलडमरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ । इरानी विदेशमन्त्रीले भने हाल यो मार्ग औपचारिक रूपमा बन्द नभए पनि तनावका कारण जहाज आवतजावत प्रभावित भइरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज खोल्न ४८ घण्टाको समयसीमा दिएको बताइएपछि इरानले प्रतिवादस्वरूप यस्तो कडा प्रतिक्रिया दिएको हो । इरानले आफ्ना ध्वस्त संरचना पुनर्निर्माण नभएसम्म मार्ग नखुल्ने संकेतसमेत गरेको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक होर्मुज जलमार्ग अहिले आंशिक अवरोधको अवस्थामा रहेको छ, जसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य वृद्धि र आपूर्ति जोखिम बढाएको छ ।
यसैबीच, इरानले अमेरिकी हिस्सेदारी भएका कम्पनीहरूलाई लक्षित कारबाहीको चेतावनी पनि दिएको छ । मध्यपूर्वको यो तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने विश्लेषण गरिएको छ ।
अस्ट्रेलियासहित २२ देशको संयुक्त विज्ञप्ति
यूएई, बेलायत, फ्रान्स, जर्मनी, जापान र अस्ट्रेलियासहित २२ देशले संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज जलमार्गमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले इरानलाई लक्षित गर्दै जहाजहरूमाथिका आक्रमण, धम्की, खानी बिछ्याउने तथा ड्रोन–क्षेप्यास्त्र गतिविधि तुरुन्त रोक्न कडा आग्रह गरेका छन् ।
विज्ञप्तिमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ र अन्तर्राष्ट्रिय समुद्री कानुन (ग्ल्ऋीइक्) पालना गर्न जोड दिँदै नेभिगेसन स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने उल्लेख छ । होर्मुजमा अवरोध हुँदा अन्तर्राष्ट्रिय ढुवानी र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने चेतावनी पनि दिइएको छ । २२ देशले इरानको गतिविधिले विश्वव्यापी शान्ति र विशेषगरी कमजोर राष्ट्रहरूमा प्रत्यक्ष असर पार्ने बताउँदै नागरिक पूर्वाधार र तेल–ग्यास संरचनामाथि आक्रमण नगर्न आग्रह गरेका छन् ।
यसैबीच, संकट व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्ने निर्णय गरेको छ, जसलाई सम्बन्धित देशहरूले स्वागत गरेका छन् । ऊर्जा बजार स्थिर राख्न केही उत्पादक देशहरूले उत्पादन बढाउने तयारी पनि गरिरहेका छन् । संकट प्रभावित देशहरूलाई अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग गर्ने पहल अघि बढाइएको छ ।
