कपिलवस्तुको बहादुरगञ्ज अझै अशान्त
काठमाडौं । कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप अझै समाधान हुन सकेको छैन। शनिबार बिहान ईद मनाउने क्रममा महाराजगञ्ज नगरपालिका–२ को बरगदा र बहादुरगञ्ज क्षेत्रमा विवाद चर्किएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर गर्नुपरेको थियो भने घटनामा तीन जना घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्रदेखि बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म निषेधाज्ञा जारी गरेको छ, जुन अझै कायम छ। विवाद समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताएका छन्।
प्रहरीका अनुसार मस्जिदमा नमाज पढिरहेको समयमा नजिकैको मन्दिरमा डिजे बजाइएपछि विवाद सुरु भएको थियो। झडपका क्रममा दुवै पक्षबाट मन्दिर र मस्जिदमा तोडफोड भएको छ। अहिले स्थानीय तह, राजनीतिक दल र प्रशासनले धार्मिक सहिष्णुता कायम राख्दै समस्या समाधानको प्रयास गरिरहेका छन्।
