२० दिनको हवाई आक्रमणपछि इरानको परमाणु क्षमता ध्वस्त : नेतन्याहु

काठमाडौं । पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गएको छ । मिसाइल र ड्रोनको गर्जनबीच यो संघर्ष २१औँ दिनमा प्रवेश गरिसकेको छ । यही उग्र परिस्थितिबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एकैसाथ धेरै प्रश्नहरूको जवाफ दिएका छन् । पत्रकार सम्मेलनको सुरुवातमै नेतन्याहूले भने, “म अझै जीवितै छु । तपाईंहरू सबै यो कुराको प्रमाण हुनुहुन्छ ।” यसअघि नेतन्याहू मारिएको भन्दै धेरै दाबीहरू भइरहेका थिए ।

यस क्रममा नेतन्याहूले इरानको परमाणु क्षमतालाई लिएर टिप्पणी गर्दै अमेरिका र इजरायलको २० दिनको हवाई आक्रमणपछि इरानसँग अब युरेनियम संवर्द्धन गर्ने वा ब्यालिस्टिक मिसाइल बनाउने क्षमता बाँकी नरहेको बताए । उनले अब इरानले परमाणु हतियार बनाउन नसक्ने पनि बताए । साथै, इरानको मिसाइल र ड्रोन भण्डारले भारी नोक्सानी बेहोरिरहेको र चाँडै पूर्ण रूपमा नष्ट हुने दाबी गरे ।

नेतन्याहूले भने, “हामी जितिरहेका छौँ र इरान नराम्ररी क्षतिग्रस्त भइरहेको छ । हामी अहिले ती कारखानाहरू नष्ट गर्दै छौँ, जसले यी मिसाइल र परमाणु हतियारका पार्टपूर्जाहरू तयार गर्छन् ।” यद्यपि, नेतन्याहूले आफ्ना यी बयान र दाबीका लागि कुनै पनि ठोस प्रमाण भने प्रस्तुत गरेका थिएनन् । उनले युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाबारे विस्तृत रूपमा कुरा गर्दै आफूले ट्रम्पलाई यो युद्धमा नधकेलेको र ट्रम्पले आफ्नो निर्णय आफैँ लिएको दाबी गरे ।

उनले यो युद्धमा अमेरिका इजरायलका लागि नभई इजरायलसँगै युद्ध लडिरहेको पनि बताए । पत्रकारहरूसँग नेतन्याहूले इरानविरुद्ध चलाइएको इजरायली अपरेसन ‘राइजिङ लायन’को लक्ष्यमा जोड दिँदै ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल इरानमाथि पूर्ण शक्ति र संकल्पका साथ कारबाही गरिरहेका बताए । ‘अपरेसन राइजिङ लायन’को उद्देश्य आयातोल्लाह शासनको खतरालाई अन्त्य गर्नु रहेको, जसले विगत ४७ वर्षदेखि अमेरिका, इजरायल र इरानका जनताविरुद्ध युद्ध छेडेको उनको भनाइ छ ।

नेतन्याहूले होर्मुज जलमार्गबारे इरानलाई लक्षित गर्दै भने, “इरानी शासनले होर्मुज जलमार्ग बन्द गरेर विश्वलाई ब्ल्याकमेल गर्ने कोसिस गरिरहेको छ,” उनले भने, “तर, यो सफल हुने छैन । इजरायल आफ्नो तर्फबाट र अमेरिकी प्रयासहरूसँग मिलेर यो जलसन्धि खुला राख्न मद्दत गरिरहेको छ ।” यदि, आयातोल्लाहसँग परमाणु हतियारयुक्त मिसाइल रहेको भए उनीहरूले पूरै विश्वलाई ब्ल्याकमेल गर्न सक्ने उनको भनाइ छ ।

यसैगरी मध्यपूर्वमा जारी युद्धका बिच नेतन्याहुले इरानको साउथ पार्स ग्यास फिल्डमा आक्रमण आफ्नो देश एक्लैले गरेको बताए। उनले साउथ पार्स ग्यास फिल्डमा हमला गर्दा अमेरिका संलग्न नरहेको बताएका हुन्।

यसैबिच उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि यस्ता आक्रमण रोक्न आग्रह गरेको र इजरायलले त्यसको पालना गरिरहेको पनि बताए। नेतन्याहुले भने, ‘ट्रम्पले हामीलाई अब यस्ता आक्रमण नगर्न आग्रह गरेका छन् र हामीले हाल त्यसलाई रोकेका छौँ।’ यो आक्रमणलाई युद्धमा ठुलो मानिन्छ, किनकि यसअघि इजरायलले इरानको तेल र ग्यास उत्पादन क्षेत्रलाई प्रत्यक्ष रूपमा हमला गरेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर