भोलि र पर्सि देशका विभिन्न स्थानमा वर्षासहित हावाहुरी : सतर्क रहन अपिल
काठमाडौं । यही चैत ६ र ७ गते (शुक्रबार र शनिबार) देशका विभिन्न स्थानमा वर्षासहित हावाहुरी चल्नसक्नेतर्फ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपालले सतर्क गराएको छ।
जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत ६ गते दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ।
साथै, शुक्रबारबाटै दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको छ।
प्रि–मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ। पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसहरुको मृत्यु तथा घाइते भएका छन्।
उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउन एवम् जोखिमयुक्त स्थानमा नबस्न पनि आग्रह गरेको छ।
यसका साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन समेत विज्ञप्तिमार्फत सबैसँग आग्रह गरिएको छ।
