इन्धनको मूल्यवृद्धिसँगै ट्रम्प घरेलु दवाबमा

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध तेस्रो सातामा प्रवेश गर्दा विश्व ऊर्जा बजारमा गम्भीर हलचल पैदा भएको छ । विशेष गरी अमेरिकाभित्र पेट्रोलको मूल्यमा भएको तीव्र वृद्धिले राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो राजनीतिक चुनौती खडा गरिदिएको छ ।

युद्धका कारण एक महिनाअघि प्रतिग्यालन २.९४ डलर रहेको पेट्रोलको औसत मूल्य बढेर अहिले ३.७२ डलर पुगेको छ । दैनिक जीवनयापनको लागत बढ्दै जाँदा यसले आगामी चुनावमा मतदाताको मनोविज्ञानलाई प्रभावित पार्ने देखिएको छ । महँगी नियन्त्रण गर्ने ट्रम्प प्रशासनको प्राथमिकतामा इन्धनको यो मूल्यवृद्धिले गम्भीर धक्का पुर्‍याएको छ ।

सामरिक रूपमा, ट्रम्पले ‘अपरेसन एपिक फ्युरी’ लाई सफल बनाउन जापानबाट करिब ५ हजार मरिन सैनिकलाई पश्चिम एसिया परिचालन गर्न आदेश दिएका छन् । युद्धकै कारण अप्रिलका लागि तय भएको उनको चीन भ्रमण समेत एक महिना पछाडि धकेलिएको छ । यद्यपि, ह्वाइट हाउसमा आयोजित सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफू दबाबमा नरहेको देखाउन युद्धका अतिरिक्त अन्य घरेलु मुद्दाहरूमा बढी समय खर्चिएका थिए ।

अन्तर्राष्ट्रिय मोर्चामा भने अमेरिकाले केही जटिलताको सामना गरिरहेको छ । रणनीतिक महत्त्वको होर्मुज जलमार्ग सुरक्षाका लागि ट्रम्पले अन्तर्राष्ट्रिय गठबन्धनको प्रस्ताव गरे पनि जापान, अस्ट्रेलिया र धेरै युरोपेली देशहरूले यसमा सामेल हुन अस्वीकार गरेका छन् । युद्धलाई छिट्टै टुङ्ग्याउने दाबी गरिए पनि पछिल्ला गतिविधिले यो अझै लम्बिन सक्ने सङ्केत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर