योग र ध्यान सिक्दै संसदीय तालिम लिँदै रास्वपाका सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आज अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योग तथा ध्यान गराइएको छ । ललितपुरमा हिजोदेखि आरम्भ भएको कार्यक्रममा आजको सत्रमा योजना, बजेट निर्माण, सुशासन र राजनीतिक संस्कार विकासको प्रशिक्षण दिइने छ ।
बिहान पहिलो सत्रमा पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया योजना तथा बजेट निर्माणका विषयमा सहजीकरण गर्नेछन् । सुशासन: अवधारणा र सभ्यासका विषयमा सांसद र नीति निर्माताका लागि दिइने प्रशिक्षणको सहजीकरण पूर्वसचिव प्रतापकुमार पाठकले गर्नेछन् ।
पार्टी र सांसदको सम्बन्ध: नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिवद्धताका विषयमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले सहजीकरण गर्नेछन् । अनि समूहगतरूपमा सांसदले एजेण्डा प्राथमिकता निर्धारणबारे सहभागी सबैले प्रस्तुति दिने कार्यसूची तय भएको छ ।
त्यसपछि हुने समापन सत्रको कार्यक्रममा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुतीसहित सहभागीले धन्यवाद ज्ञापन गरेपछि सभापति रवि लामिछानेको सम्बोधनसँगै अभिमुखीकरण समापन हुने कार्यसूची छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो ।
