पश्चिम नेपालबाट सुरु भएको वर्षा बिस्तारै पूर्वतर्फ सर्दै

काठमाडौं  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार बिहानैदेखि नेपालको पश्चिम क्षेत्रबाट सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमबाट सुरु भएको वर्षा बिस्तारै पूर्वतर्फ सर्दैछ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा गराउने उक्त प्रणाली अहिले चितवनसम्म आइपुगेको बताए।

पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भएको जनाउँदै कायस्थले अहिले पनि वर्षा भइरहेको उल्लेख गरे। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए।

उनका अनुसार हाल मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागद्वारा आइतबार जारी मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ। देशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनुका साथै थोरै क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उनले बताए। उनका अनुसार अझै केही दिन बदली कायम रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर