कुमार पौडेल हत्या : सर्वेन्द्र खनाल र बादलमाथि खतराको घन्टी
काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), र तत्कालीन प्रहरी महानिरिक्षक सवेंन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलगायतविरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने भएको छ ।
कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन्। जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। त्यसको करिब पाँच वर्षपछि बिहीबार न्यायाधीशहरु मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अघि बढाउनु भनी आदेश जारी गरेपछि अनुसन्धानको फाईल हुल्ने भएको हो ।
प्रहरीले पौडलेको हत्या नभई दोहोरो भिडन्त अर्थात् ‘इन्काउन्टर’मा मारिएको भन्दै आए पनि सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउनु भनी बिहीबार आदेश जारी गरेको हो । पौडेलको २०७६ साल असार ५ गते प्रहरीको गोली लागेर निधन भएको थियो ।
अदालतले परमादेश जारी गरेसँगै जिल्ला प्रहरी कार्यालय सर्लाहीले कम्तीमा १० जनाविरुद्ध औपचारिक रूपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रक्रिया अगाडि बढाउनुपर्नेछ । ५ वर्षसम्म दबिएको यो फाइल पुनः खुलेपछि पीडित परिवारले न्यायको आशा पलाएको बताएका छन् ।
