समानुपातिकको सिट बाँडफाँट : यस्तो छ ‘सेन्ट लग’ सूत्र
काठमाडौं ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । अब समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ भन्ने चासो बढेको छ । निर्वाचन आयोगले दलले प्राप्त गरेको सदर मतलाई सिटमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणाली अवलम्बन गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानी दलले बन्दसूचीमार्फत उम्मेदवारी दिने गर्छन् । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिन्छ ।
सेन्ट लग विधि ?
घिमिरेका अनुसार दलले पाएको सदर मतलाई बिजोर सङ्ख्या (१, ३, ५, ७, ९, ११, १३ आदि) ले निरन्तर भाग गरिन्छ । यसरी भाग गर्दा आउने भागफललाई ठुलोबाट सानो क्रममा मिलाएर राखिन्छ । समानुपातिकतर्फ जम्मा १ सय १० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठुला १ सय १० वटा भागफल छानिन्छन् । ती १ सय १० वटा ठुला भागफल कुन–कुन दलको भागमा पर्छन्, सोही आधारमा दलले सिट प्राप्त गर्छन् । बढी मत ल्याउने दलको भागमा धेरै ठुला भागफल पर्ने भएकाले उनीहरूले धेरै सिट पाउँछन् भने कम मत ल्याउनेले थोरै सिट प्राप्त गर्छन् । यसै विधिलाई प्राविधिक रूपमा ‘सेन्ट लग मेथड’ भनिन्छ ।
सिट निर्धारणपछिको प्रक्रिया
सिट सङ्ख्या यकिन भएपछि दलले कानुनले तोकेको समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) बमोजिमको क्लस्टर मिलाएर तीन दिनभित्र आयोगमा नाम सिफारिस गर्नुपर्ने हुन्छ । दलले पठाएको नाम बन्दसूचीको क्रम र समावेशी कानुनबमोजिम भए/नभएको निर्वाचन आयोगले जाँचबुझ (भेरिफिकेसन) गर्छ । प्रक्रिया कानुनसम्मत देखिएपछि मात्र अन्तिम नामलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
सकियो समानुपातिकतर्फको मतगणना
