मध्यपूर्व युद्धप्रति चीनको कडा असन्तोष

काठमाडौं ।  चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा फैलिएको युद्धप्रति कडा असन्तोष व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवाद समाधानका लागि शक्ति प्रयोगभन्दा संवाद र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । उहाँले विशेष गरी अमेरिकासँगको सम्बन्ध व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुई शक्तिबीचको मतभेदलाई जिम्मेवार ढङ्गले सम्हाल्न आग्रह गर्नुभयो ।

चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री यीले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्व विश्व शान्तिका लागि चिन्ताजनक भएको बताउनुभयो । उहाँका अनुसार यस्तो युद्ध सुरु हुनु नै नपर्ने थियो । उहाँले बल प्रयोगलाई समस्याको समाधानका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

“सैन्य शक्तिले उचित कारण सिद्ध हुँदैन”, उहाँले भन्नुभयो, “संसार फेरि जङ्गलको नियममा फर्किन सक्दैन ।”

चीनको वार्षिक राजनीतिक कार्यक्रम ‘दुई सत्र’ का अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । चीनको संसद् र राजनीतिक परामर्शदात्री निकायका समानान्तर बैठकहरू यसै साता सुरु भएका छन् । यी बैठकहरूलाई बदलिँदो भू–राजनीतिक परिस्थितिमा चिनियाँ नेतृत्वका नीति र प्राथमिकताबारे सङ्केत दिने महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर