रास्वपा दुई तिहाइ बहुमतको यात्रामा अग्रसर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा दुई तिहाइ बहुमतको यात्रामा अग्रसर भइरहेको छ । प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ ।
नेकपा र राप्रपाले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । श्रम संस्कृती पार्टी २ प्रतिशत छ, थ्रेसहोल्ड कटाउन सकेको छैन । अरू दलहरू त्यो भन्दा कम मतको अनुपातमा छन् । तर अहिलेकै अनुपात कायम रहेमा रास्वपाले समानूपातिकको आधाभन्दा बढी सांसद बनाउनेछ ।
समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगले अपनाउने गणना पद्धतीका आधारमा हेर्दा रास्वपाले करिब ६१ सांसद पाउने देखिन्छ । अहिलेको अनुपातलाई आधार मान्दा कांग्रेसले २१ र एमालेको १६ सिट हुने देखिन्छ । नेकपाले ८ र राप्रपाले ४ सिट पाउने देखिन्छ । थ्रेसहोल्डको हिसावकिताव र त्यसबाहिर रहने दलको मत कटौती गर्दा एकाध सिटसंख्या तलमाथि हुनसक्छ ।
२ सय ७५ सदस्य भएको प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पाउन १८४ सिट ल्याउनुपर्छ । अहिलेसम्मको अवस्थामा हेर्दा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ६१ सिट पाउने देखिन्छ । समानुपातिकमा अहिलेकै अनुपात कायम रहे ऊ दुई तिहाइ मतको नजिक पुगेको देखिन्छ ।
