महेश बस्नेत हार स्वीकार्दै राजीव खत्रीलाई दिए बधाई
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीको जीत सुनिश्चित देखिएको छ । मत परिणाम अनुसार खत्री ३४ हजार ७०२ मत ल्याएर पहिलो स्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् ।
बस्नेतले ८ हजार ३५१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार कबिर राणा तेस्रो स्थानमा रहँदै सात हजार ३२१ मत ल्याएका छन् । एमालेका बस्नेतले हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ सम्मानपूर्वक स्वीकार गर्दछु ।’
उनले खत्रीलाई बधाईसँगै कार्यकालको शुभकामना समेत दिएका छन् । ‘राजनीतिमा हार–जीत स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन । अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं।’ बस्नेतले बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने बताएका छन् ।
