२६ स्थानमा मतगणना हुँदा २१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

काठमाडौं । हिजो फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मत गणना प्रारम्भ भएको छ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश उम्मेदवारले अग्रता हासिल गरेको छ । हालसम्म गणना भइरहेको २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अघि रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ। विगतका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले निरन्तर जित हासिल गर्दै आएका क्षेत्रमा समेत यस पटक रास्वपाले शुरुवाती अग्रता कायम गरेको देखिएको छ। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने बताइएको छ।

केपी ओलीविरुद्ध बालेनले लिए दोब्बर बढीको अग्रता

झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छ। उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्। हालसम्मको परिणाम अनुसार शाह र ओलीबिचको मतान्तर निकै बढी देखिएको छ।

चितवन २ मा रविले लिए अग्रता

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।

रौतहट-४ मा रास्वपाका गणेश पौडेलको अग्रता

रौतहट-४ मा रास्वपाका उम्मेदवार गणेश पौडेलको अग्रता कायमै छ। रास्वपाका  पौडेलले १९०८ मत पाउँदा काँग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले ५३६  मत लिएको छ । यसैगरी, नेकपाका उम्मेदवार रामकुमार भट्टराई ३७८ र एमालेका रामजी साहले ६० मत लिएको छ ।

धनुषा-३ मा मनिष झाको फराकिलो मतान्तर

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार झाले ३ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। झा र दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिबिच २ हजार ७ सय ८८ मतको अन्तर रहेको छ। निधिले ९ सय ९९ मत पाएका छन्। यस्तै, नेकपा एमालेका जुली महतोले ५ सय ७६ मत पाएकी छन्।

काठमाडौँ-२ मा केसीको अग्रता

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ। उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताए। यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन्।

कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् । कास्की १ मा खड्कराज पौडेल (गनेस)ले फराकीलो अन्तर बनाएका छन् । पौडेलले १ हजार ३ सय ५४ मत सहित अग्रता लिँदा काँग्रेसका तिलक रानाभाटले ५ सय ९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका बैनबहादुर अधिकारीको ५ सय २९ मत छ ।

क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उत्तम पौडेलले लिड गरेका छन् । उनले २ हजार ४ सय १७ मत सहित अग्रता लिँदा एमालेका रश्मि आचार्यको १ हजार २ सय १४ र काँग्रेसका माधव प्रसाद बाँस्तोलाले ७ सय १७ मत पाएका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाकी बिना गुरुङ अगाडि छन् । गुरुङले १ हजार ३ सय २३ मत पाउँदा काँग्रेसका मनोज गुरुङले ५ सय ६१ र एमालेका दामोदर बैरानीले ३ सय ३९ मत ल्याए ।

काठमाडौं-९ र १० मा पनि रास्वपाको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ। हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेकाे निर्वाचन अधिकृत मेनुका घिमिरेले बताए। नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन् । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ।

त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ। पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेका निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए।

रुपन्देही ३ मा पनि रास्वपाको फराकिलो अग्रता

रुपन्देही क्षेत्र नं ३ प्रारम्भिक मतगणनामा रास्वपाले फराकिलो मतान्तरले अग्रता लिएको छ । तिलोत्तमा १३ र ओमसतिया २ को ४०६० मत मध्ये २१६७ मतगणना भइसक्दा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपा का फैज अहमद खानले ४५, राष्टिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् । यहाँ १ लाख ४० हजार ३५ मतदाता रहेका छन् ।

बाँके–३ रास्वपाका खगेन्द्र सुनारको अग्रता कायमै

बाँके क्षेत्र नम्बर–३ मा ३ हजार ४ सय ४५ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुनारले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका हुन्। सुनारले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन ५ सय ४१ मतसहित तेस्रो स्थानमा छन्।

भक्तपुर क्षेत्र नं १- २ मा पनि रास्वपा

भक्तपुर क्षेत्र नं १ मा पनि रास्वपाका उम्मेदवार रूकेश रञ्जितले अग्रता कायम गरेका छन् । रञ्जितले ३४५२ मत प्राप्त गर्दा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले १९८२ र नेपाली काँग्रेसका किरण न्यौपानेले ५२९ मत प्राप्त गरेका छन् । त्यसैगरी, क्षेत्र नं २ मा रास्वपाका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर