ट्रम्पले यो अभियानलाई “विशाल र जारी” भएको बताएका छन् । अमेरिकी रक्षा विभागले पछि यस अभियानको नाम “अपरेशन एपिक फ्युरी” राखिएको जानकारी दिएको छ, जुन संयुक्त अमेरिका–इजरायल आक्रमण सुरु भएयताको पहिलो आधिकारिक सैन्य वक्तव्य हो।

इरानका कुन–कुन स्थानमा आक्रमण भयो?
फार्स समाचार एजेन्सीका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट, जुम्हुरी क्षेत्र र इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स मुख्यालय नजिकै धेरै मिसाइल प्रहार भएका छन्। एसोसिएटेड प्रेसका अनुसार तेहरानमा भएको एक आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको कार्यालय नजिक भएको थियो ।
इरानको अर्ध-आधिकारिक तस्निम समाचार एजेन्सीले तेहरानको उत्तरी सैयद खन्दान क्षेत्रमा पनि विस्फोट भएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार केर्मानशाह, कुम, तब्रिज, इस्फहान, इलाम र कराज शहरहरूमा साथै लोरेस्तान प्रान्तमा पनि विस्फोटका खबर आएका छन्।
इरानको प्रतिक्रिया
इरानले मिसाइल प्रहार गरेर जवाफ दिएको इजरायली सेनाले पुष्टि गरेको छ। देशका विभिन्न भागमा साइरन बजेको सुनिएको छ र उत्तरी इजरायलमा विस्फोट देखिएको र सुनिएको छ। इजरायली सेनाले भनेको छ, “जनतालाई होम फ्रन्ट कमाण्डका निर्देशन पालना गर्न अनुरोध गरिन्छ। हाल इजरायली वायुसेना खतरालाई रोक्न र आवश्यक परे प्रतिकार गर्न सक्रिय छ।”
यसअघि इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले “कडा” जवाफ दिने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, “हामीले चेतावनी दिएका थियौँ! अब तपाईंहरूले यस्तो बाटो रोज्नुभएको छ जसको अन्त्य अब तपाईंहरूको नियन्त्रणमा छैन।”
इरानले कतारसँगै, युएई, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ। इरानले कतारको अल उदेइद एयरबेसलाई निशाना बनाएको बताएको छ किनभने यो “अमेरिकी वायुसेनाको कमाण्ड सेन्टरको रूपमा काम गर्दछ र पश्चिम एसियामा अमेरिकी आतंकवादी सेनाको सबैभन्दा ठूलो रणनीतिक सम्पत्ति हो”।
तेहरानले यो पनि उल्लेख गरेको छ कि मिसाइल हमला कतारको आवासीय क्षेत्रहरूबाट टाढा गरिएको थियो। “यो कार्यले मित्रवत र भ्रातृ राष्ट्र कतार र यसका महान जनतालाई कुनै खतरा छैन र इस्लामिक गणतन्त्र इरान कतारसँग न्यानो र ऐतिहासिक सम्बन्ध कायम राख्न र निरन्तरता दिन प्रतिबद्ध छ,” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्तिमा भन्यो ।
टाइम्स अफ इजरायलका अनुसार, यदि इरानले युद्धको मैदानमा अमेरिकालाई चुनौती दिन असफल भए पनि वाशिङ्टनका लागि कुनै अभियानलाई सफल घोषित गर्न सजिलो हुने छैन। त्यसका लागि ट्रम्प प्रशासनले तेहरानसँगको सैन्य लडाइँका लक्ष्यहरू स्पष्ट गर्नुपर्नेछ, जुन वाशिङ्टनले अहिलेसम्म गर्न सकेको छैन ।
युरोपियन कमाण्डका पूर्व डेपुटी कमाण्डर तथा अमेरिकाको ज्यूइश इन्स्टिच्युट फर नेशनल सेक्युरिटीका फेलो जनरल चार्ल्स वाल्ड (सेवानिवृत्त) भन्छन्, “मलाई लाग्दैन कि अमेरिका इरानमा स्थल आक्रमण गरेर त्यहाँको सत्ता परिवर्तन गर्नेछ। यस्तो हुने सम्भावना कम छ। अमेरिका सम्भवतः विमान र मिसाइल प्रयोग गरेर हवाई सैन्य अभियान चलाउनेछ ।”
रॉयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका इलेक्ट्रोनिक वारफेयर विज्ञ थॉमस विथिङ्टनले भने, “इरानले आफ्नो वायु प्रतिरक्षा क्षमता मजबुत बनाएको छ। यसमा उसलाई रुस र चीनबाट सहयोग प्राप्त भएको छ।” तर उनले जोड दिए कि इरानको एयर डिफेन्स प्रणालीले अमेरिकी हवाई शक्तिलाई ठूलो चुनौती दिने सम्भावना कम छ।
डोनाल्ड ट्रम्पको लक्ष्य के हो?
सैन्य शक्तिमा मजबुती भए पनि विज्ञहरूलाई लाग्छ कि सफल अभियानका लागि सबैभन्दा ठूलो चुनौती सम्भवतः डोनाल्ड ट्रम्प आफैंले सिर्जना गरेको हो । इरानमाथि आक्रमण र सैन्य सामना सम्बन्धी स्पष्ट लक्ष्य अहिलेसम्म तय गर्न नसक्नु ट्रम्पको मुख्य चुनौती मानिएको छ। ट्रम्पले गत वर्ष हुथीहरूविरुद्ध परिणामविहीन अपरेशन सञ्चालन गरिसकेका छन् ।
ट्रम्पलाई भेनेजुएलामा सैन्य अपरेशनमा सफलता मिले पनि इरानका सन्दर्भमा स्पष्टता छैन। उनले तेहरानमा अयातोल्लाह खामेनेईको सत्ता ढाल्न लामो र ठूलो अभियान रोज्ने हुन् कि इरानको क्षमतामा कमी ल्याएर उसलाई स्वीकार्य आणविक सम्झौतामा धकेल्ने सीमित हमला गर्ने हुन् भन्ने अनिश्चित छ।
विथिङ्टन भन्छन्, “जब तपाईंका उद्देश्यहरू अस्पष्ट हुन थाल्छन्, तपाईं कठिन परिस्थितिमा पर्न सक्नुहुन्छ। यस मामिलामा पनि त्यस्तै देखिन्छ। ट्रम्प प्रशासनका लागि सबैभन्दा ठूलो समस्या भनेको सफल हवाई अभियान चलाउन सकिए पनि तेहरानमा परिवर्तन ल्याउन उनीहरूसँग के योजना छ भन्ने स्पष्ट नभएको हो।”
इरानका सर्वोच्च नेता कहाँ छन्?
८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह खामेनेई कहाँ छन् भन्ने तत्काल स्पष्ट छैन। अमेरिका–इरान तनाव बढेपछि उनी केही दिनदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । तेहरानको केन्द्रमा रहेको खामेनेईको परिसर जाने सडकहरू विस्फोट भइरहेका बेला बन्द गरिएको थियो । यसैबीच, इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले राष्ट्रपतिको कार्यालय स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति मसूद पेजेशकियन सुरक्षित रहेको जनाएको छ।
इरानमाथि किन आक्रमण भयो ?
इस्लामिक कट्टरपन्थी शासनको विरुद्ध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई दबाउन ३० हजारभन्दा बढीको हत्या गरिएपछि इरानमा अमेरिकी आक्रमण सुरु भएको हो। राजसंस्थाको माग गर्दै लाखौं इरानी सडकमा निस्किएपछि कट्टरपन्थी इस्लामिक शासनले ३२ हजारभन्दा बढीको हत्या गरेको अरु हजारौं घाइते भएको समाचार सार्वजनिक भएको थियो । दुई महिनाको अन्तरालमा आन्दोलन दबाउन इरानी सरकारले चर्को दमन गरेको, घाइतेहरुलाई अस्पतालमै गएर हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले यसरी हत्या गरिएकाहरुको संख्या ३५ हजारभन्दा बढी रहेको अनुमान सार्वजनिक गरेका छन् ।
पाँच बालिकाको मृत्यु
इरान र इजरायलबीचको द्वन्द्वले खाडी क्षेत्रका अन्य मुलुकहरूलाई प्रभावित गरेको छ। इरानको होर्मोज्गान प्रान्तमा रहेको विद्यालयमा इजरायली हवाई आक्रमणले पाँच बालिकाको मृत्यु भएको छ। इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको छ। कतारले यसलाई सार्वभौमसत्ताको उल्लंघन भनेको छ भने साउदी अरबले गम्भीर परिणामको चेतावनी दिएको छ।
