ज्योतिष पीठका शंकराचार्य स्वामी अभिमुक्तेश्वरानन्दले यौन शोषण गरेको पुष्टि !!
काठमाडौं । भारतको प्रयागराजस्थित ज्योतिष पीठका शंकराचार्य स्वामी अभिमुक्तेश्वरानन्दले यौन शोषण गरेको भनिएका बटुकको स्वास्थ्य परीक्षणको रिपोर्ट बाहिर आएको छ। रिपोर्टमा उनले बाल यौन शोषण गरेको पुष्टि भएको दाबी प्रहरी स्रोतले गरेको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार प्रहरीले बुधबार नाबालिग पीडितको मेडिकल जाँच गराएको थियो। प्रयागराजको सरकारी अस्पतालका चिकित्सकले पीडितको स्वास्थ्य परीक्षण गरेका हुन्।
आज बिहीबार सिलबन्दी गरिएको खाममा अनुसन्धान अधिकारीलाई बुझाइएको त्यो रिपोर्ट शुक्रबार अदालतमा पेस गरिनेछ। प्रहरी स्रोतका अनुसार, ‘बटुकसँग कुकर्म कसले, कहिले र कहाँ गर्यो, यो अनुसन्धानको विषय हो। पूर्ण अनुसन्धानले अभिमुक्तेश्वरानन्दविरुद्धको आरोपको वास्तविकता बताउनेछ।’ स्टेसन इन्चार्ज झुन्सी महेश मिश्रले यो अदालतमा विचाराधीन रहेको मुद्दा भएकाले थप विवरण दिन नसकिने बताए।
यसअघि शंकराचार्यविरुद्ध उजुरी गर्ने आशुतोष महाराजले बुधबार सबै प्रमाण उपलब्ध रहेको बताएका थिए। उनले भनेका छन्, ‘मेडिकल रिपोर्टले बटुकहरूसँग यौनजन्य कुकर्म भएको पुष्टि गरेको छ र चाँडै न्याय पाइनेछ।’
यसैबिच पीडित बटुकमध्ये एकजना पहिलोपटक मिडियामा आएका छन्। आजतकसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म अध्ययन गर्न गएको थिएँ तर मेरो शोषण गरियो, मसँगै अरू बच्चा पनि थिए, उनीहरूको पनि यौन शोषण गरियो। कसले उनीहरूको शोषण गर्यो? पीडितले भनेका छन्, ‘अभिमुक्तेश्वरानन्द, उनका चेला मुकुन्दानन्द।’
