ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका –१ निवासी २२ वर्षीय सञ्जित स्याङतान र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल पठाइएमा उपचारको क्रममा उहाँहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
हेटौँडा बजारबाट मनहरीतर्फ जाँदैगरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाइ नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ ।
दुर्घटनापछि फरार भएको ट्रकलाई पर्सा वीरगञ्ज महानगरपालिका –१३ पर्तिमाचोकस्थित ग्यारेजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका –३ निवासी ३६ वर्षीय अनिल साह फरार रहेका छन् । उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
